गुणस्तर परीक्षणमा ‘फेल’ भएपछि भूगर्भ पीपीसी सिमेन्टको बिक्री रोक्का

DigitalNepal Portal

२०७८ श्रावन २९ गते प्रकाशित

१ भदौ, काठमाडौं । भूगर्भ पिपिसी सिमेन्ट नेपाल गुणस्तर परीक्षणमा असफल भएको छ । नमूना परीक्षणमा सिमेन्टको भारवहन क्षमता नेपाल गुणस्तर मापदण्ड बमोजिम नपाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।गुणस्तर ‘फेल’ भएपछि भूगर्भ सिमेन्ट उद्योग प्रालिबाट उत्पादित सबै प्रकारका पीपीसी सिमेन्टको बिक्रीमा रोक लगाइएको विभागका प्रवक्ता दिनानाथ मिश्रले जानकारी दिए । ‘सिमेन्टको गुणस्तरहीन पाएपछि बिक्रीमा रोक लगाएर कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधिएको छ, स्पष्टीकरणको जवाफपछि थप कारबाहीबारे निर्णय हुन्छ,’ प्रवक्ता मिश्रले भने ।सिमेन्टको कम्प्रेसिभ क्षमता परीक्षण गर्दा तीन दिनको नतिजा १६ एमपीए आउनु पर्नेमा ९ मात्रै आएको थियो । यस्तै ७ दिनको भारवहन क्षमता २२ एमपीए आउनु पर्नेमा १५ मात्रै आएको विभागले जनाएको छ ।विभागले तोकेको नेपाल गुणस्तर मापदण्डभन्दा सिमेन्टको गुणस्तर निकै कम भएको प्रवक्ता मिश्रले बताए । सिमेन्ट प्रयोग गरेका वुटवलको उपभोक्ताबाट आएको गुनासापछि गरिएको गुणस्तर परीक्षणमा उक्त तथ्य पत्ता लागेको उनले बताए ।गुणस्तर फेल भएको सिमेन्ट बिक्रीबारेे कम्पनीले चित्त बुझ्दो जवाफ नदिए थप कारबाही अघि बढाउने विभागले जनाएको छ । कपिलवस्तुको शिवराज ६ मा रहेको सिमेन्ट उद्योगले भूगर्भ ओपीसीसहित अपोलो, क्र्याष्टल र देउराली ब्राण्डको पीपीसी सिमेन्ट उत्पादन गर्छ ।विभागको कारवाहीपछि अपोलो, क्र्याष्टल र देउराली ब्राण्डको पिपिसी सिमेन्टको बिक्रीमा रोक लगाइएको छ ।
हाम्रो बारेमा