अफगानिस्तानबाट कुबेत हुँदै ११८ नेपाली काठमाडौं आइपुगे

DigitalNepal Portal

२०७८ श्रावन ३१ गते प्रकाशित

१ भदौ, काठमाडौं । अफगानिस्तानबाट कुवेत हुँदै *११८ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्‍याइएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो । परराष्ट्र मन्त्रालयले पनि ११८ जना नेपाली काठमाडौं आएको ट्वीटरमार्फत् जानकारी दिएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले अफगानिस्तानबाट कुबेत हुँदै १२७ जना आज बिहान काठमाडौं आइपुगेको जानकारी दिएका थिए ।अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा नेपालीलाई पठाउने कम्पनी एफएसआई वर्ल्डवाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले पनि ३८५ जना नेपालीलाई अमेरिकाले उद्धार गरेर दोहा पुर्‍याएको र तीमध्ये १२७ जना आज बिहान नेपाल आइपुगेको बताएका थिए । यद्यपि नेपाल अवतरण गरेका १२७ जनामध्ये केही भारतीय नागरिक पनि भएको खुलेको छ ।उनीहरुलाई लिन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । अफगानिस्तानबाट आएका नेपालीहरुलाई सामाखुसीस्थित एक क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्याएर घर फर्काइने सुरक्षा स्रोतले बतायो ।अफगानिस्तानमा अझै केही नेपालीहरु उद्धारको पर्खाइमा छन् । परराष्ट्र मन्त्रालयले सोमबार साँझसम्म १३४ नेपालीहरु सम्पर्कमा आएको र सम्पर्कमा आएका सबैलाई उद्धार गर्ने जनाएको छ ।विद्रोही तालिबान समूहले अफगानिस्तानमा नियन्त्रण जमाएपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विभिन्न देशहरुले सेना पठाएर आफ्ना नागरिकहरुलाई उद्धार जारी राखेका छन् । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ र सहयोगी देशहरुलाई पत्र लेखेर नेपालीहरुलाई पनि उद्धार गरिदिन आग्रह गरेको छ ।(यसअघि समाचारमा अफगानिस्तानबाट १२७ नेपाली काठमाडौं आइपुगेको हुन गएकाले सच्याइएको छ । सं.)

हाम्रो बारेमा