७५० अफगान सैनिक भागेर उज्बेकिस्तान पुगे, एक सैन्य विमानलाई सीमा क्षेत्रमा खसालियो

DigitalNepal Portal

२०७८ श्रावन २९ गते प्रकाशित

१ भदौ, काठमाडौं । उज्बेकिस्तानले अफगानिस्तानका सैनिक चढेको एक विमानलाई खसालिदिएको छ । सीमा पार गर्न खोजेकाले हवाई प्रतिरक्षा बलले सो सैन्य विमानलाई खसालिदिएको उज्बेकिस्तानको रक्षा मन्त्रालयले जानकारी दिएको हो ।उक्त विमानमा कति जना चढेका थिए र कोही जीवित छन् कि छैनन् भन्ने खुलेको छैन । यद्यपि समाचार संस्था एएफपीले सेनाको पोशाक लगाएका दुई जना अस्पतालमा भर्ना भएको एक चिकित्सकलाई उद्धृत गर्दै लेखेको छ । वितेको ४८ घण्टाको अवधिमा ७५० जना अफगान सैनिक भागेर उज्बेकिस्तान पुगेका समाचारहरु सार्वजनिक भएका छन् । ६०० जना अफगान सैन्य विमानमार्फत् उज्बेकिस्तान पुगेको बीबीसीले जनाएको छ । उज्बेकिस्तान प्रशासनका अनुसार दक्षिणी शहर तेरमेजमा ४६ सैन्य विमान अवतरण गरेका छन् ।यी विमानलाई स्कर्टिङ गरेको एक अफगान विमान र उज्बेक लडाकु विमान आपसमा ठोक्किएको दाबी उज्बेकिस्तानको प्रोसिक्युटर जनरलको कार्यालयले जनाएको छ । दुबै विमानका पाइलट भने जोगिएका छन् ।अफगानिस्तानको राजधानी काबुल तालिबानले नियन्त्रणमा लिएसँगै त्यहाँ अस्थिरता बढेको छ । काबुल छाड्न चाहनेहरुको विमानस्थलमा भिडभाड छ । अमेरिकी एयरफोर्सको एक विमानसँगसँगै रनवेमा मानिसहरु दौडिरहेको र सो विमान उडेपछि केही मानिसहरु खसेको भिडियो सार्वजनिक भएको छ ।विमानस्थलको स्थिति नियन्त्रणमा लिन अमेरिकी सैनिकले गोली चलाउँदा नौ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । साठीभन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर अफगानिस्तानबाहिर जान चाहनेहरुलाई जान दिन तालिबानलाई आह्वान गरेका छन् ।विद्रोही तालिबान लडाकुहरु अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेलगत्तै राष्ट्रपति असरफ घानीले गत आइतबार देश छाडेका थिए । उनी कहाँ छन् भन्ने खुलेको छैन । पूरै अफगानिस्तानमा नियन्त्रण जमाएपछि तालिबानले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेको छ ।
हाम्रो बारेमा