अब अफगानिस्तानको सत्ता कसले सम्हाल्ला ?

DigitalNepal Portal

२०७८ भाद्र ०४ गते प्रकाशित

३२ साउन, काठमाडौं । विद्रोही समूह तालिबानले अफगानिस्तानमा नियन्त्रण जमाएपछि अब सत्ता कसले सम्हाल्ला भन्ने चासो छ । अफगानिस्तान सरकारको नेतृत्व गर्ने भनेर हाल तालिबानका दुई नेताको नाम बढी चर्चामा छ । उनीहरु हुन् मुल्ला अब्दुल गनी बरादर र हिब्तुल्लाह अखुन्दजादा ।मुल्ला अब्दुल गनी बरादर तालिबानको संस्थापक नेता हुन् । सन् १९९४ मा तालिबान गठन भएपछि उनले एक कमाण्डर र रणनीतिकारको भूमिका खेलेका थिए । सन् २००१ मा जब अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा आक्रमण गरी तालिबानलाई सत्ताबाट हटाइयो, त्यतिबेला नेटो सैन्य बलविरुद्ध विद्रोहको नेतृत्व यिनैले गरेका थिए । सत्ताबाट हट्ने बेलामा उनी तालिबानको डेपुटी रक्षामन्त्री थिए ।सन् २०१० फेब्रुअरीमा अमेरिका र पाकिस्तानको एक संयुक्त अभियानमा उनी पाकिस्तानको कराँची शहरबाट पक्राउ परेका थिए । सन् २०१२ सम्म मुल्ला बरादरबारे धेरै जानकारी थिएन । अफगानिस्तान सरकारसँग शान्ति वार्ताको कुरा चल्दा तालिबानको बन्दी रिहाइको सूचीमा बरादरको नाम नै प्राथमिकतामा पर्थ्यो ।सेप्टेम्बर २०१३ मा पाकिस्तान सरकारले उनलाई रिहा गर्यो । रिहा भएपछि उनी पाकिस्तानमै रहे या त्यहाँबाट अन्त गए भन्ने स्पष्ट हुन सकेन ।मुल्ला बरादर तालिबानका नेता मुल्ला मोहम्मद उमरको सबैभन्दा विश्वासपात्र सिपाही थिए । पक्राउ पर्ने बेला उनी तालिबानको दोस्रो ठूलो नेता थिए । अफगानिस्तान प्रशासनका वरिष्ठ अधिकारीहरुलाई सधैं लाग्थ्यो बरादर जत्तिको वरिष्ठ नेताले तालिबानलाई शान्ति वार्ताका लागि मनाउन सक्छन् ।सन् २०१८ मा जब कतारमा अमेरिकासँग वार्ताको ढोका खुल्यो तब उनी तालिबानको पार्टी प्रमुख बने । उनले सधैं अमेरिकासँग वार्ताको समर्थन गर्दथे ।मुल्ला उमर जिउँदो रहँदासम्म उनले तालिबानको लागि फण्ड जुटाउने र दैनिक गतिविधिको नेतृत्व गरे । उनले अफगानिस्तानको सबै युद्धमा तालिबानको तर्फबाट अहम् भूमिका निभाए । खासगरी हेरात र काबुल क्षेत्रमा उनी सक्रिय रहे ।उनी पक्राउ परेपछि अफगानिस्तानका एक अधिकारीले बीबीसीसँग भनेका थिए, ‘बरादरकी पत्नी मुल्ला उमरकी बहिनी हुन् । तालिबानको सबै खर्चको हिसाब उनैले राख्दथे । उनले अफगान सुरक्षा बलविरुद्ध सबैभन्दा खतरनाक आक्रमणको नेतृत्व गर्दथे ।’तालिबानका अन्य नेताहरुलाई जस्तै बरादरलाई पनि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको थियो । उनलाई यात्रा गर्न र हतियार खरिद गर्न रोक लगाइएको थियो ।सन् २०१० मा पक्राउ पर्नुभन्दा अगाडि उनले न्यूजविक पत्रिकालाई दिएको अभिव्यक्ति चर्चित थियो । अफगानिस्तानमा अमेरिकाको बढ्दो उपस्थितिबारे उनले भनेका थिए– तालिबानले अमेरिकालाई धेरैभन्दा धेरै क्षति पुर्‍याउन चाहन्छ । जबसम्म हाम्रो भूमिबाट दुश्मनहरु समाप्त हुँदैन, तबसम्म हाम्रो विद्रोह जारी रहन्छ ।’इन्टरपोलका अनुसार मुल्ला बरादरको जन्म उरुजगान प्रान्तको देहरावुड जिल्लाको विटमाक गाउँमा सन् १९६८ मा भएको थियो । उनको सम्बन्ध दुर्रानी कबिलेसँग छ । पूर्वराष्ट्रपति हामिद कारजाई भन दुर्रानीबाटै हुन् ।हिब्तुल्लाह अखुन्दजादातालिबानका अर्का नेता हिब्तुल्लाह अखुन्दजादा इस्लाम धर्मका विद्वान मानिन्छन् । भनिन्छ उनैले तालिबानको दिशा बदले र तालिबानलाई अहिलेको अवस्थामा पुर्याए ।उनी अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहारका हुन् । कान्दाहार तालिबानको गढ मानिन्छ । उनकै कारण कान्दाहारमा तालिबानले पकड जमाउन सकेको बताइन्छ ।सन् १९८० को दशकमा उनले तत्कालीन सोभियत संघ (रुस)विरुद्ध अफगानिस्तानको विद्रोहमा कमाण्डरको भूमिका निर्वाह गरेका थिए । तर, उनी सैन्य कमाण्डरको रुपमा भन्दा एक धार्मिक विद्वानको रुपमा चिनिन्छन् ।उनी अफगान तालिबानको प्रमुख बन्नुभन्दा पहिलेदेखि नै तालिबानका शीर्ष नेताको रुपमा चर्चित थिए । धर्मसँग सम्बन्धित आदेश उनैले जारी गर्दथे । अपराधका दोषी र अवैध यौन सम्बन्ध राख्नेहरुको हत्या तथा चोरी गर्नेहरुको हात काटिदिने आदेश उनैले दिन्थे ।हिब्तुल्लाह तालिबानका पूर्वप्रमुख अख्तर मोहम्मद मन्सुरको उत्तराधिकारी थिए । मन्सुरको सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो ।भनिन्छ पाकिस्तानको क्वेटामा हिब्तुल्लाहको भेटवार्ता जुन तालिबान शीर्ष नेतासँग भयो, उनैले नै हिब्तुल्लाहलाई तालिबानको प्रमुख बनाएका थिए । ‘हिब्तुल्लाह’को अर्थ हो ‘भगवानबाट प्राप्त पुरस्कार’ ।

हाम्रो बारेमा