दोब्बर राजस्व संकलन गर्ने लक्ष्य लिएको छु : अर्थमन्त्री शर्मा

DigitalNepal Portal

२०७८ कार्तिक २३ गते प्रकाशित

मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताए । ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु’ उनले भने, ‘बाहिर तोकिएकोले मात्र पुग्दैन । राजस्व बढाउन कडाइसमेत गरिएको छ ।’

यद्यपि पछिल्लो समय बेमौसमी वर्षाका कारण अबौंको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिएको उनको भनाइ छ । राजस्व संकलनसमेत लक्ष्यअनुरुप हुने विश्वास उनको छ ।

राजस्व बढाउन लगानी पनि बढ्नु पर्ने भन्दै उनले तातोपानी नाकाको सडक स्तरोन्नतिका लागि चीनसँग समन्वय गरेर अघि बढ्नुपर्ने उल्लेख गरे ।

मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउनसमेत निर्देशन दिए ।

उनले चीन सरकारले ठोस रुपमा गर्ने सहयोग र नेपालले गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकास सहकार्यमा गर्नुपर्ने जोड दिए । ‘यहाँको पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्’, उनले भने, ‘उता चाइनिज पार्टीले कति गर्ने हो, त्यसको पनि मूल्याङ्कन गर्नुहोस् । त्यसरी दुई वटालाई जोडेर काम अगाडि बढाऔं ।’

तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्वका साथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माको भनाइ छ ।

नाका तथा भन्सार कार्यालयको निरीक्षणमा पुगेका मन्त्री शर्माले चीन सरकारको सहयोगमा निर्मित सुख्खा बन्दरगाहको समेत निरीक्षण गरेका छन् । कोरोना महामारीका कारण हाल तातोपानी नाका प्रायः बन्द रहेको छ । पछिल्लो समय करिब एक दर्जन मालबाहक सवारी नेपाल भित्रिने गरेका छन् ।

नाकाबाट अधिकांश तयारी कपडा भित्रिने गरेको तातोपानी भन्सारले जानकारी दिएको छ । त्यस्तै स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, ओखरलगायतका मालवस्तु भित्रिने गरेका छन् ।

हाम्रो बारेमा