नेपाली सम्पदा र वैभवलाई अन्तर्राष्ट्रिय मञ्चमा झल्काउन चाहन्छु

DigitalNepal Portal

२०८० असोज १९ गते प्रकाशित

काठमाडौं । जब कोही देशको सिमाना बाहिर जान्छ, उसले राष्ट्रियताको प्रतिनिधित्व गरेको हुन्छ । अक्टोबर २६ मा जापानको टोकियोमा हुने मिस इन्टरनेसनलमा प्रसिद्धि शाहसँग निजी नाम हुनेछैन । स्टेजमा उनलाई ‘नेपाल’ नामले बोलाइनेछ ।

अनलाइनखबरको स्टुडियोमा यी कुरा गरिरहँदा उनी केही भावुक र दबाबपूर्ण सुनिइन् । ‘विदेशमा मैले गल्ती गर्दा पनि नेपालकै नाम आउने भयो । विदेशमा म प्रसिद्धि शाह हुँदिन । त्यहाँ बोलाउने नाम नेपाल हुन्छ । भिन्न खाले दबाब हुने रहेछ,’ उनी भन्छिन् ।

फिनालेको उल्टो गणनाबीच फिट एण्ड फाइन राख्न प्रसिद्धिले शारीरिक र मानसिक तयारी गरेकी छन् । यसका लागि मुम्बई पुगिन्, जहाँ उनले पेजेन्टको कोर्स पनि पढिन् । स्टाइलिङ, हेयर, मेकअप, स्पिच, वाक र पेजेन्टमा आफूलाई प्रस्तुत गर्ने शैली सिकिन् । पेजेन्टको मानसिक दबाब छल्न योग, कसरत र ध्यान कक्षा पनि सिकिन् ।

बलियो दाबेदारीको अनुमान

गृहकार्य हेर्दा फिनालेमा नेपालको दाबेदारी जबर्जस्त हुने अनुमान गर्न सकिन्छ । यसको उदाहरण हो, दिगो विकास लक्ष्यसम्बन्धी भिडियोमा उनले पाएको प्रतिक्रिया । यो भिडियोलाई मिस इन्टरनेसनलको युट्युब च्यानलमा दोस्रो धेरै पटक हेरिएको छ । प्रतिस्पर्धाको प्रिलिमिनरी जजिङ (प्रारम्भिक मूल्यांकन)मा यो भिडियो सहायक बन्न सक्छ ।

यसबाहेक नेपालले यसपटक उच्च पहाडी क्षेत्रको जीवनशैली र संस्कृतिक झल्काउने पहिरन डिजाइन गरेको छ । यो पहिरन थाङ्का कलाबाट प्रभावित छ । प्रसिद्धिले नेपालबाट पञ्चबुद्ध मण्डलाको स्वर्णअंकित थाङ्का लग्दैछिन् । ‘यसमार्फत म नेपाली सम्पदा र वैभवलाई चिनाउन चाहन्छु,’ उनी भन्छिन् ।

पञ्चबुद्धको मण्डलाको थांकालाई मिस इन्टरनेसनलको मञ्चमा प्रस्तुत गर्ने तयारी पछाडि प्रसिद्धिसँग केही सोच छन् । उनी नेपाली बौद्ध परम्परामा रहेको शान्तिपूर्ण सहअस्तित्वलाई झल्काउन चाहन्छिन् । संयोग के भइदियो भने उनकी आमा अर्थात् पहिलो मिस नेपाल रुबी राणाले पनि फिलिपिन्स जाँदा पञ्चबुद्धकै थाङ्का लगेकी थिइन् ।

‘म आफैंले बजारमा किन्दा पनि मिल्न गयो । जापानमा पनि बुद्ध दर्शन रुचाइने भएकाले यो मेरो छनोटमा पर्‍यो,’ उनले भनिन् ।

हाम्रो बारेमा