देशभक्तिको सवालमा प्रदेश-२ बलियो छ : निवर्तमान प्रदेश प्रमुख झा

DigitalNepal Portal

२०७८ भाद्र ०१ गते प्रकाशित

१ भदौ, काठमाडौं। प्रदेश-२ को प्रदेश प्रमुखबाट पदमुक्त भएका राजेश झा अहिराजले देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको बताएका छन् ।पदमुक्त भएपछि मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले प्रदेश-२ का नागरिकको सरकारमाथिको विश्वास र नेपाली हुनुमा गर्वको अनुभूति गराउन भने विशेष पहलकदमीको खाँचो रहेको बताए । सीमा सुरक्षा, देशभक्ति, नागरिकता र भ्रष्टाचार जस्ता विषय सम्झौताका विषय होइनन् भन्ने कुरा प्रत्येक नागरिक र सरोकारवालालाई प्रष्ट्याउँदै जानुपर्ने उनको भनाइ छ ।‘देशभक्तिको सवालमा प्रदेश-२ बलियो रहेको छ । जनघनत्वको आधारमा भौगोलिक समावेशीकरण र संरचनागत रंगभेदको सवालमा प्रदेश सरकार बेलैमा गम्भीर हुन जरूरी छु’ उनले भनेका छन् ।निजामती कर्मचारीहरूको कार्यशैली र क्षमतामाथि विश्वास गरेर आफूले निजी सचिवालय पनि नराखेको निवर्तमान प्रदेश प्रमुख अहिराजले बताए । ‘राज्यमा नियुक्त भएका प्रतिनिधिहरूले निजी सचिवालय राखिराख्दा राष्ट्रसेवक निजामती कर्मचारीहरूको मनोवलमा ह्रास आउने भएकोले राज्यकै अंग (निजामती) माथि विश्वास गर्नुपर्छ’ उनले भने ।निवर्तमान प्रदेश प्रमुख अहिराजले नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पूर्ण कार्यकालको सफलताको शुभकामना दिएका छन् ।प्रदेश प्रमुखको रूपमा काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । ‘सवल, सुन्दर, समृद्ध र साझा प्रदेश निर्माणमा मेरो भूमिका सदैव रहिरहनेछ । पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणासमेत गर्दछु’ उनले भनेका छन् ।निवर्तमान प्रदेश प्रमुख झाले नेपाल सरकारद्वारा प्राप्त निजी सुरक्षाकर्मी नलिने घोषणासमेत गरेका छन् ।

हाम्रो बारेमा