सर्वोच्च अदालतमा न्यायिक संग्रहालय स्थापना

DigitalNepal Portal

२०७८ भाद्र ०४ गते प्रकाशित

१ भदौ, काठमाडौं । नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी पाउने गरी न्यायिक संग्रहालयको निर्माण गरिएको छ । सर्वोच्च अदालतले नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने संग्रहालय स्थापना गरेको हो ।संग्रहालयको मंगलबार एक कार्यक्रमका बीच प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले उद्घाटन गरेका छन् । उनले न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्याय प्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्ने सहयोग मिल्ने बताए । प्रधानन्यायाधीश जबराले न्यायपालिकाका ऐतिहासिक वस्तु संकलन गरेर संग्रहालयलाई अझै बढाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।यस्तै न्यायिक संग्रहालय स्थापनामा संयोजन गरेकी न्यायाधीश सपना प्रधान मल्लले राज्यका निकायले ऐतिहासिक पुरातात्विक विषय संग्रहित गरेर राख्नुपर्ने बताइन् । उनले यो संग्रहालय नेपालको न्याय र कानून क्षेत्रको विकासको सजिव इतिहास बन्ने दाबी गरिन् ।न्याय सम्पादनका क्रममा विभिन्न समयमा भएका महत्वपूर्ण फैसलाहरु, न्यायायाधीश तथा न्यायपालिकाले प्रयोग गरेका पुराना सामग्रीहरु, न्याय र कानूनी क्षेत्रका पुरातात्विक सामाग्रीहरु संग्रहालयमा संग्रहित गरिएको छ ।संग्रहालयमा करिब ३ सय ५० सामग्री तयार पारिएको छ । प्रदर्शनी कक्षको अभावमा तत्काल १५ प्रकृतिका फरक सामाग्री राखिएको छ । भौतिक संरचना स्थापनापछि सबै सामग्री र थप सामग्री समेत गरी डिजिटल संग्रहालयको स्थापना गरिने मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले बताए ।कार्यक्रममा संग्रहालय स्थापनामा सहयोग पुर्‍याउने पदाधिकारी तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

हाम्रो बारेमा