अमेरिकालाई कति महँगो बन्यो अफगानिस्तान युद्ध ?

DigitalNepal Portal

२०७८ श्रावन २४ गते प्रकाशित

३२ साउन, काठमाडौं । तालिबानले अफगानिस्तानमा पुनः कब्जा जमाएको छ । सन् २००१ मा अमरिकाको आक्रमणपछि सत्ताबाट च्यूत भएको तालिबानले अमेरिकी सेना फिर्ता गएसँगै अफगानिस्तानमा कब्जा जमाएको हो । अमेरिकी सेनाले २० वर्षसम्म अफगानिस्तानमा लडाइँ गर्‍यो । यो क्रममा अमेरिकाले अर्बौं डलर खर्चिएको थियो ।अमेरिकाले सन् २०११ मा अफगानिस्तानमा सबैभन्दा धेरै एक लाख १० हजार सैनिक परिचालन गरेको थियो । अहिले यो संख्या ६५० मा झरेको छ । यद्यपि आफ्नो नागरिकलाई फिर्ता लैजान उसले थप पाँच हजार सैनिक काबुल पठाएको छ । त्यस्तै अधिकारिक तथ्यांकमा अपरेसन फोर्स र अन्य अस्थायी एकाईलाई भने समावेश गरिएको हुँदैन । अमेरिकाबाहेक उसका सहयोगी मुलुकले पनि अफगानिस्तानको युद्धमा भाग लिँदै आफ्ना सेनाहरु पठाएका छन् । नेटोले २०१४ मा नै आफ्नो युद्ध मिसन अन्त्य गरेको थियो तर उसले १३ हजार सैनिक अफगानी सेना र आतंकवाद नियन्त्रणको लागि खटाउँदै आएको थियो ।त्यसका साथै अफगानिस्तानमा धेरै निजी सुरक्षा कन्ट्र्याक्टरमार्फत भएका सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । निजी कम्पनीबाट आएका सुरक्षाकर्मीमा अधिकांश अमेरिकी नागरिक थिए ।कति रकम खर्च भयो ?अफगानिस्तानको युद्धमा भएको अधिकांश खर्च अमेरिकाले गरेको छ । सन् २०१० देखि २०१२ को बीचमा अमेरिकाले सबैभन्दा धेरै सैनिक अफगानिस्तानमा खटाउँदा युद्धको खर्च वार्षिक करिब एक खर्ब डलर पुगेको अमेरिकाको सरकारी तथ्यांक छ ।अमेरिकाले त्यसपछि आक्रामक अपरेसन चलाउन थाल्यो र अफगानी सेनालाई तालिम दिने रणनीति ल्यायो । त्यसपछि भने खर्चमा कमी आयो । सन् २०१८ सम्म आइपुग्दा युद्धको खर्च वार्षिक ४५ अर्ब डलरमा झरेको अमेरिकी रक्षा मन्त्रालयले बताएको छ ।अमेरिकी रक्षा मन्त्रालयका अनुसार अफगानिस्तानमा सन् २००१ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्म अमेरिकाले सात खर्ब ७८ अर्ब डलर रकम खर्च गरेको छ ।त्यसका साथै अमेरिकाको विदेशमन्त्रालयका साथै यूएसएड र अन्य सरकारी एजेन्सीले पुनर्निर्माणको परियोजनामा थप ४४ अर्ब डलर खर्च गरेका छन् । यसरी हेर्दा २००१ देखि २०१९ सम्ममा समग्रमा आठ खर्ब २२ अर्ब डलर रकम खर्च भएको देखिन्छ । यसमा पाकिस्तानमा गरिएको खर्च भने उल्लेख छैन । अमेरिकाले अफगानिस्तानसँग सम्बन्धित अपरेसनको लागि पाकिस्तानको बेस पनि प्रयोग गरेको थियो ।२०१९ मा ब्राउन युनिभर्सिटीले सार्वजनिक गरेको एक अध्ययनले भने अफगानिस्तान र पाकिस्तानको युद्धमा अमेरिकाले करिब ९ खर्ब ७८ अर्ब डलर खर्च गरेको देखाएको छ ।अमेरिकापछि अफगानिस्तानमा सबैभन्दा धेरै सेना खटाएका बेलायत र जर्मनीले पनि यो युद्धमा क्रमशः ३० अर्ब र १९ अर्ब डलर रकम खर्च गरेको आकलन छ । यस वर्षसम्ममा नेटोले ७ करोड २० लाख डलरका सामग्री र उपकरण अफगानिस्तान पठाइसकेको छ ।कहाँ खर्च हुन्थ्यो यो रकम ?अफगानिस्तान युद्धमा खर्च गरिएको ठूलो रकम आतंकवाद नियन्त्रण कार्यक्रम र सैनिकको खाना, कपडा, स्वास्थ्य स्याहार, विशेष भत्ता र अन्य सुविधामा खर्च हुँदै आएको छ ।आधिकारिक तथ्यांकअनुसार २००२ यता अमेरिकाले पुनर्निमाणका परियोजनाहरुमा करिब एक खर्ब ४३ अर्ब डलरभन्दा धेरै रकम खर्च गरेको छ । जसमध्ये आधाभन्दा धेरै अफगानी सुरक्षा बलको संरचना निर्माणको लागि खर्च गरेको थियो । करिब ३६ अर्ब डलर शासन र विकासको लागि खर्च गरिएको छ भने थोरै रकम लागू औषध नियन्त्रण र मानवीय सहायताको लागि खर्च गरिएको छ ।यो रकममध्ये केही रकम त्यत्तिकै खेर गएको, ठगी तथा दुरुपयोग हुँदै आएको छ । २०२० अक्टोबरमा अमेरिकाको संसद्मा प्रस्तुत गरिएको प्रतिवेदनमा पुनर्निर्माणको लागि गरिएको खर्चमध्ये २००९ मे देखि २०१९ डिसेम्बरसम्ममा १९ अर्ब डलर रकम हराएको छ ।मानवीय क्षति२००१ मा तालिबानसँगको युद्ध सुरु भएपछि ३५०० विदेशी सेनाले मृत्यु भएको छ, जसमध्ये २३०० अमेरिकी सेना छन् । बेलायतका ४५० सेनाको मृत्यु भएको छ । यो युद्धको क्रममा २० हजारभन्दा धेरै अमेरिकी सेना घाइते भएका छन् ।अफगानी सेनाको मृत्यु भने विदेशी सेनाको तुलनामा निकै बढी छ । अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले २०१९ मा पाँच वर्षको अवधिमा ४५ हजारभन्दा धेरै अफगानी सेनाको मृत्यु भएको बताएका थिए ।ब्राउन युनिभर्सिटीले २०१९ मा सार्वजनिक गरेको आकलन अनुसार सन् २००१ मा युद्ध सुरु भएपछि मृत्यु हुनेको अफगानी सुरक्षाकर्मीको संख्या ६४ हजारभन्दा धेरै छ ।युनाइटेड नेसन्स एसिस्टेन्स मिसन इन अफगानिस्तानका अनुसार २००९ यता अफगानिस्तान युद्धमा करिब एक लाख ११ हजारभन्दा धेरै आम नागरिक मृत्यु वा घाइते भएका छन् ।बीबीसीबाट
हाम्रो बारेमा